सांसदहरू कुम्भ मेलामा छन्, फर्किएपछि अध्यादेश अघि बढ्छः कांग्रेस

काठमाण्डु टुडे २०८१ फागुन ४ गते १३:०८ मा प्रकाशित

काठमाण्डू, ४ फागुन– सत्ता घटक दल नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरू अहिले काठमाण्डू बाहिर रहेकाले अध्यादेश अघि बढाउन थप केही दिन समय चाहिएको बताएका छन । प्रमुख सचेतक घिमिरेले आज (आइतबार) सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन ।

उनले भने, ‘सांसदहरू बाहिर बाहिर जानुभएको छ । यसकारण छोटो समयमा अध्यादेशलाई संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने गरी लैजान गाह्रो हुन्छ ।’ आइतबार बिहान सत्तापक्षका प्रमुख सचेतकहरूको बैठक सिंहदरबारमा बसेको थियो । नेकपा एमालेको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा अध्यादेश अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो ।

छलफलपछि पत्रकारहरूले फागुन ६ गते अध्यादेश निर्णयार्थ पेस गर्ने सरकारको तयारीबारे प्रश्न गरेका थिए । जवाफमा उनले सरकारको तर्फबाट त्यस्तो प्रस्ताव आएको भएता पनि सांसदहरू काठमाण्डू बाहिर रहेकाले त्यो सम्भव नरहेको बताएका हुन् । उनले भने, ‘अध्यादेश अगाडि बढाउन हामीलाई कम्तिमा एक हप्ता दश दिनको समय चाहिन्छ । सांसदहरूलाई जम्मा गर्नुपर्यो ।

अहिले कुम्भ मेला चलिरहेको छ । धेरै सांसदहरू कुम्भ मेलातिर लाग्नुभएको छ । कतिपय सांसदहरू काठमाडौं बाहिर हुनुहुन्छ । तिनीहरूलाई जम्मा गर्न, पूर्वसूचना दिन समय चाहिन्छ’, उनले भने ।

यसकारणले फागुन ६ गते नै अध्यादेश अगाडि बढाउन सक्ने वतावरण नबनेको उनले बताएका छन । प्रतिनिधि सभाको बैठक आइतबार, सोमबार र मंगलबार प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसपछि अर्को बैठक फागुन ११ गते बस्ने संसदीय कयालेन्डर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us