काठमाण्डू, ३ फागुन– वन डिभिजन कार्यालय झापाले झापाको मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक घनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहराहरुलाई हटाएको छ ।
पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछा मासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वन क्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।
सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर घनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिएका छन । वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो ।
वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटक पटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर घनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले जानकारी दिए ।
स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले जानकारी दिए । स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए ।
‘अर्को स्थानमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न समय लाग्छ, १० दिन म्याद दिनुहोस् भनेर वन डिभिजन र प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्यौँ’, नगरप्रमुख बुढाथोकीले भने, ‘तर वन डिभिजन कार्यालयले मानेन ।’
चारआली बजारको पश्चिममा रहेको सो स्थान प्रगति सामुदायिक वनअन्तर्गत रहेको छ । सालका रुख रहेको उक्त स्थान दुई दशकयता अतिक्रमणमा पर्दै आएको छ ।