कांग्रेसको प्रश्नः के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?

काठमाण्डु टुडे २०८१ फागुन ३ गते ९:३३ मा प्रकाशित

काठमाण्डू, ३ फागुन– प्युठानबाट निर्वाचित सांसद सूर्यबहादुर थापाको व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस प्युठानका सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित अस्वभाविक चरित्र देखाउने र वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाएको बताएका छन ।

एमाले सांसद थापाले जिल्लाकी समानुपाति सांसद निमा गिरीसमेतको आतिथ्यतामा हुने एक कार्यक्रमको ब्यानर टांस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने ‘हेट स्पीच’ दिएको विज्ञप्तिमा आरोप लगाइएको छ । सांसद थापाले समानुपातिक सांसदलाई इंगित गरी उनीहरुको कुनै जिम्मेवारी नभएको र फुर्सदै फुर्सद भएको, नागरिकको घरदैलोमा पुगेको विषयलाई ‘क्याटवाक गर्दै हिंडेर विकास हुन्छ र’ भन्दै आपत्ति जनाउने, प्रदेश सांसदको पहलमा परेका विकास वजेटको अवमूल्यन र विरोध गर्ने लगायतका गतिविधि गरेको भन्दै कांग्रेसले यस्ता गलत अभिव्यक्ति नदिन ध्यानाकर्षण भएको बताएको छ ।

सांसद थापाको अभिव्यक्ति संविधानको मर्मविपरीत समावेशी, समानुपातिक प्रणालीमाथिको आक्रमण भएको कांग्रेसले बताएको छ । कांग्रेस प्युठानद्धारा जारी गरीएको विज्ञप्तिमा भनिएको छ, ‘प्यूठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाई भेट्ने र मतदाता सँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?’

भन्ने प्रश्न गर्दै कांग्रेसले सत्ता साझेदारीमा रहेका दुई ठुला दलको गठवन्धनको गरिमालाई विखण्डन गर्ने दूषित भनाइहरुलाई बन्द गर्न आग्रह गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us