काठमाण्डू, २ फागुन– आज शुक्रबार नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिक हाल सम्म पनि फेला परेका छैनन । उनको खोजी कार्य जारी छ ।
शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
उनको शुक्रबार दिनभर गोताखोरसहितको टोलीले खोजी गरेको थियो । इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले भनिन्, ‘अहिले ६ बजेसम्म हामीले खोजी जारी राख्यौं, तर केही भेट्टाउन सकिएन , ‘भोलि बिहानबाट फेरि खोजी सुरु गर्छौं ।’ रात परेकाले खोज्न असम्भव भएपछि अहिले आफूहरू फर्किएको उनले बताइन् ।
बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका राना दुर्घटनामा परेका थिए । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले खोजी गरेको थियो ।
ती व्यक्ति मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए ।