त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन २ गते १३:४५ मा प्रकाशित

काठमाण्डू, २ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन ।

आज (शुक्रबार) स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग भएको भेटमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । उनले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति भएको पनि बताएका छन ।

उनले भने, ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’

उनले भारत हुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई दश वर्षमा दश हजार मेगावट विद्युत विक्री गर्ने सम्झौता तथा चीनमा विद्युत निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने पनि बताएका छन ।

उनले इप्पानले विद्युत उत्पादनमा महत्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रशंसा समेत गरे । उनले आफूले सरकारको नेतृत्व गर्दा ऐनको बाधा, राष्ट्रिय निकुञ्ज ऐन २०२९ र वनका विभिन्न मुद्दा सम्बोधन हुने गरि अध्यादेश ल्याएका ल्याए पनि अदालतले रोकेकाले यसका लागि थप लविङको आवश्यकता रहेको पनि बताएका छन ।

इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालको जलविद्युत विकासमा अध्यक्ष प्रचण्डको योगदान महत्वपूर्ण रहेको औल्याउँदै उनको पालामा त्रिदेशीय विद्युत ब्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us