जनयुद्धलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्छुः प्रचण्ड

काठमाण्डु टुडे २०८१ फागुन १ गते १३:५२ मा प्रकाशित

काठमाण्डू, १ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने बताएका छन । आज बिहिबार ३० औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन ।

उनले अहिले शान्ति प्रक्रिया नटुंग्याएको कारण देखाएर अदालतले स्थगन गरे पनि यो राष्ट्रिय दिवस भएको र यसलाई राष्ट्रिय दिवसको रूपमा स्थापित गरेरै छाड्ने दृढता व्यक्त गरेका छन ।

उनले भने, ‘हामी अहिले संघीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा छौं। यसको मुख्य प्रेरणा जनयुद्ध नै हो, ‘हामी जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई रक्षा र विकास गरेर संघीय लोकतान्त्रिक गणतन्त्र हुँदै समाजवादको आधार तयार गर्ने यात्रामा छौं।’ अध्यक्ष प्रचण्ड जनयुद्धको प्रेरणा सयौं वर्षसम्म रहिरहने समेत बताएका छन । उनले जनयुद्धलदाई मेटाउने प्रयास गरेमा खरानी हुने चेतावनी समेत दिएका छन् ।

उनले भने, ‘जनयुद्ध नेपालको इतिहासमा सबैभन्दा ठूलो युगान्तकारी परिवर्तन गराउने परिघटना थियो । यसले आज मात्र होइन, सयौं वर्षसम्म पनि प्रेरणा दिइरहने छ ।

यसलाई कसैले मेटाउन सम्भव छैन, जसले मेटाउने प्रयास गर्छ, उ खरानी हुनेछ।’ अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनको बलमा बनेको संविधानमा स्थापित मान्यतालाई एकथरि तत्वले अस्वीकार गर्ने र जनताका अधिकार कुण्ठित गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यी सबै प्रयास असफल पार्न आफूहरूले निरन्तर अग्रगमनका लागि संघर्ष गरिरहेको बताएक छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us