काठमाण्डू, ३० माघ– राष्ट्रिय मानव अधिकार आयोगले नाबालिकालाई घरेलु कामदारका रुपमा श्रम शोषण तथा हिंसा गरेको आरोप लागेकी एमाले लुम्बिनी प्रदेशसभाकी सांसद रेखाकुमारी शर्मामाथि मुद्धा नचलाउने सरकारी वकिलको निर्णयमा छानबिन अघि बढाएको छ ।
आयोगले बुधबार विज्ञप्ति जारी गर्दै सांसद शर्मामाथि मुद्दा नचलाउने सरकारी वकीलको निर्णयसहितको फाइल मगाएर बालिकालाई बन्धक बनाएर श्रमशोषण गरेको घटनामा अनुसन्धान सुरू गरिएको जनाएको हो ।
आयोगले स्वविवेकीय क्षेत्राधिकार प्रयोग गरी छानविन तथा अनुसन्धान सुरु गरेको सहायक प्रवक्ता श्यामबाबु काफ्लेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
शर्माले पीडित बालिकालाई ६ वर्षसम्म बन्धक बनाएर श्रमशोषण गरेको समाचार सञ्चार माध्यममा आएका थिए । काठमाण्डू महानगरपाकिलाले गत जेठमा शर्माको घरबाट बालिकाको उद्धार गरेको थियो ।
आयोगले उच्च सरकारी वकील कार्यालय पाटन र जिल्ला सरकारी वकील कार्यालय काठमाण्डूमा पत्राचार गरी नेपाल प्रहरीबाट सरकारी वकिल कार्यालयसमक्ष पेस गरेको रायसहितको प्रतिवेदन सात दिनभित्र उपलब्ध गराउन पनि पत्राचार गरेको छ ।
मुद्दा नचलाउने जिल्ला सरकारी वकिल कार्यालयले गरेको निर्णयको फाइल उच्च सरकारी वकिल कार्यालयबाट महान्यायाधिवक्ता कार्यालय पुगेको छ ।