सरकारविरुद्ध सडकमा नेविसंघः केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र ?

काठमाण्डु टुडे २०८१ माघ ३० गते १६:०९ मा प्रकाशित

काठमाण्डू, ३० माघ– सत्तारूढ कांग्रेस निकट विद्यार्थी संगठन सरकारविरुद्ध सडकमा उत्रिएको छ ।

काँगेस र एमाले सम्मिलित सरकार बनेको ७ महिनापछि नेविसंघ पहिलोपटक सरकारविरुद्ध सडकमा आएको हो ।

सरकारले हालै राष्ट्रियसभामा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनसम्बन्धी विधेयकका नियन्त्रणकारी प्रावधानको विरोधमा नेविसंघले बुधबार काठमाण्डूको माइतीघरमा प्रदर्शन गरेको छ ।

सरकारले संविधान प्रदत्त अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल हुने गरी विधेयक ल्याएकाले विरोध गर्नुपरेको नेविसंघले जनाएको छ । प्रदर्शनकारीले प्लेकार्डमा काँग्रेस झण्डाको चारमध्ये एक तारा हराएको उल्लेख गरेका छन् । चारमध्ये एक ताराको अर्थ वाक स्वतन्त्रता हो ।

‘डियर केपी बा समृद्ध नेपालमा बोल्न पाइन्न र ?, कांग्रेसको एक तारा हराएको सूचना, नियमन चाहिएको हो नियन्त्रण होइन, रोजगार त दिएनौ, बोल्न त देऊ सरकार, ‘कसुरः छद्मभेषी नामबाट फेसबुकमा दलित अधिकारको वकालत गरेको’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

केही प्रदर्शनकारी सेतो कपडाले मुख छोपेर प्रतिकात्मक रुपमा प्रदर्शनमा सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us