गोकुल बास्कोटाले नै ओली सरकारका मन्त्रीलाई जनताले ढुंगा हान्ने बताएपछि…

काठमाण्डु टुडे २०८१ माघ २९ गते १५:११ मा प्रकाशित

काठमाण्डू, २९ माघ– एमाले सांसद् गोकुल बास्कोटा प्रतिनिधिसभाको मंगलबारको बैठकमा सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भएका छन ।

बैठकमा शून्य समयमा बोल्दै उनले अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावासडक खण्ड निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराए ।

बास्कोटाले उक्त सडक यथाशिध्र निर्माण गर्न माग गरे । सरकारप्रति जनता आक्रोशित भएको भन्दै उनले अझै पनि सडक निर्माणको काम अघि नबढे भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ढुंगा खाने दिन आउन सक्ने चेतावनी दिए ।

‘चार वटा प्रधानमन्त्री फेरिए । चारै वटा मन्त्री पनि । सचिव कति फेरिए थाहा छैन । चार किलोमिटर बाटो खावादेखि धुलिखेलसम्मको बनेन’, उनले भने, ‘भौतिकमन्त्रीको कानमा बतास पसोस् भन्ने माग गर्छु सभामुखमार्फत । यही कुरा भन्नु भनेका छन् जनताले । नभए ढुंगा खाने स्थिति बन्यो अब ।’

यस्तै उनले तरकारी पकेट क्षेत्रका रुपमा रहेको र काठमाण्डूको कूल मागको १७ प्रतिशत तरकारीको माग धान्दै आएको आफ्नो गृहजिल्ला काभ्रेमा शितभण्डार निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गर्न माग गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us