काठमाण्डू, २९ माघ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद शिशिर खनालले काठमाण्डूको ठमेलमा ड्युटीमा रहेका प्रहरी जवानमाथि कुटपिट गर्ने सरकार नेतृत्वकर्ता एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका नेतालाई उन्मुक्ति दिइएको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सत्ता पक्षका कार्यकर्ता भएकैले प्रहरीले आफ्नै तल्लो तहका कर्मचारी कुटिँदासम्म अनुसन्धानको आँट नगरेको भन्दै आपत्ति जनाए ।
आफूले नेतृत्व गर्ने प्रहरीको समेत सुरक्षा गर्न नसक्ने गृहमन्त्री रमेश लेखकले नैतिकताका आधारमा कुर्सीमा बस्न नमिल्ने उनको भनाइ थियो ।
‘ड्युटीमा रहेका प्रहरी कुट्ने अस्कल क्याम्पसका अनेरास्ववियूका नेतालाई नेपाल प्रहरीले अनुसन्धान पनि गर्ने हिम्मत गरेनछ’, ‘तपाईंहरुको दुई तिहाईको बहुमत छ । आफैंले कमाण्ड गरेको प्रहरीको सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुन नैतिकताले कुर्सीमा बस्ने हो हामीलाई जवाप दिनुपर्छ ।’
आफू घटना भएको निर्वाचन क्षेत्र काठमाण्डू ६ बाट निर्वाचित सांसद रहेको भन्दै उनले अमृत साइन्स क्याम्पसका विद्यार्थी उत्तः घटनापछि थप त्रसित रहेको बताए । ‘त्यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदका रुपमा मलाई धेरै विद्यार्थीहरुले म्यासेज गर्नुभएको छ । उहाँहरुले लेख्नुभएको म्यासेजमा क्याम्पसमा कक्षा कोठामा सधैं उहाँहरुको दादागिरी चल्थ्यो । तर, अब त पुलिसले पनि आँट नगरपछि कसरी क्याम्पसमा बढ्ने तावारण होला र ? कृपया यसबारेबा बोलिदिुस् न भनेर मलाइ म्यासेज पठउनुभएको छ’, खनालले भने ।
खनालले कहिले नेविसंघका विद्यार्थी भनेर गृहमन्त्रीसँग फोटो देखाएर प्राध्यापक थर्काउन पाइने र कहिले सत्ता टिकाउनुपर्ने बहानामा अखिल समर्थित विद्यार्थीलाई प्रहरीले अनुसन्धान पनि गर्ने आँट नगर्ने भन्दै आपत्ति जनाए । तर, आषिका तामाङजस्तालाई भने अभद्र व्यवहार भनेर १५/१५ दिनसम्म हत्कडी लगाएर डुलाउने काम भएको उनको भनाइ थियो ।
खनालले नेपालमा सत्ता पक्ष समर्थित युवालाई मात्र सुरक्षा रहेको भन्ने सन्देश दिन खोजिएको भन्दै सरकारसँग प्रश्न गरे । ‘नेताहरुले भाषणमा नेपाली युवाहरुले देश छाडेर गए भनेर चिन्तित भएको म सुन्छु । तर एउटा पक्षलाई ‘प्रोटेक्ट’ गरेर दलीय विद्यार्थी संगठनका विद्यार्थीहरुलाई मात्र यो देश सुरक्षित छ भनेर हामीले यो देशका युवाहरुलाई देशमै बस भनेर सन्देश दिइरहेका छौं त ? छातीमा हात राखेर नेताहरुले आज भन्नुपर्छ’, उनले भने ।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको मदिरामत्त समूहले बिहीबार राति दरबारमार्गमा ड्युटीमा खटिएका प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नगेन्द्रराज बिष्टमाथि कुटपिट गरेको थियो ।
माथिको आदेशमा जोशीमाथि पक्राउ पुर्जी जारी गर्न नसकिएको प्रहरी अधिकारीहरुले बताएका छन् ।