काठमाण्डू, २८ माघ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने दाबी गरेका छन् ।
सोमबार बिहान जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले त्यस्तो दाबी गरेका छन् । राष्ट्रियसभामा निर्णायक मानिएको जसपा नेपाल अध्यादेश पारित नगर्ने अडानमै कायमै रहेकाले सरकार असफल हुने उनको भनाइ थियो ।
सत्तारुढ काँग्रेस र एमालेले राष्ट्रियसभामा तीन संसद रहेको जसपालाई सरकारमा सामेल गराउन तयार रहेको भन्दै अध्यादेशमा सहयोग गर्न भनिरहेका छन् ।
‘अध्यादेशबारे अहिलेसम्म जसपा अडिएको छ । उहाँहरु सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन’, प्रचण्डले भने, उहाँहरुले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने स्थिति बन्दैछ ।’
प्रचण्डले आफैंले ल्याएको अध्यादेश संसदबाट पारित गराउन नसक्ने सत्तापक्षसँग दुई तिहाई नभएको पुष्टि भएको समेत उल्लेख गरे ।
‘अहिले अध्यादेश प्रस्तुत भएपछि रोक्नुपर्ने बाध्यता के भयो भने उनीहरुसँग दुई तिहाई छैन भन्ने देखिंदैछ । बहुमत पुर्याउन पनि उनीहरुलाई गाह्रो भएको छ राष्ट्रिय सभामा ।’