मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

काठमाण्डु टुडे २०८१ माघ २७ गते १३:२६ मा प्रकाशित

काठमाण्डू, २७ माघ– मनाङको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । यही १८ माघ बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालय मनाङले जानकारी दिएको छ ।

तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिएका छन । डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको पनि उनले जानकारी दिएका छन ।

उनले भने, ‘डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।’ डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएको उनले जानकारी दिएका छन ।

प्रजिअ आचार्यले भने, ‘आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छु, ुसाथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।’ जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेको उनले जानकारी दिएका छन ।

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले जानकारी दिए । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताएका छन ।

उनले भने, ‘संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us