काठमाण्डू, २५ माघ– दलित अधिकारकर्मीले गृहमन्त्री रमेश लेखकलाई कारबाहीको माग गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा विरोध प्रदर्शन गरेका छन ।
दलित अधिकारकर्मी खगेन्द्र सुनारको नेतृत्वमा सत्ताको प्रमुख घटक दल नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा पुगेको टोलीले विरोध प्रदर्शन गरेको हो ।
टोलीले केन्द्रीय कार्यालयका सचिव डा. प्रदीप पराजुलीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको छ । सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारको विषयमा गृहमन्त्रीकै निर्देशनमा उनीहरूलाई पक्राउ पुर्जी जारी भएकाले कारबाही हुनुपर्ने उनीहरूको माग छ ।
कांग्रेस कार्यालय पुगेका उनीहरूले ‘दलित हिंसा गर्ने गृहमन्त्रीलाई कारबाही गर, जातीय हिंसामा संलग्न गृहमन्त्रीलाई बर्खास्त गर’ लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।