अध्यादेशको अध्ययन जारी छः उपेन्द्र यादवको सचिवालय

काठमाण्डु टुडे २०८१ माघ २४ गते १८:२७ मा प्रकाशित

काठमाण्डू, २४ माघ– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अध्यादेश सुझाव कार्यदलले दिएको प्रतिवेदन अध्ययनकै क्रममा रहेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाबाट अध्यादेश पारित गराउन केन्द्र र प्रदेशमा सरकारमा हिस्सेदारी खोजेको चर्चा भएपछि यादवका स्वकीय सचिव महेश चौरसियाले विज्ञप्ति नै निकालेर यसबारे प्रष्टीकरण दिएका हुन ।

राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएका अध्यादेशका लागि अध्ययन गर्न जसपा नेपालले कार्यदल बनाएको थियो । कार्यदलले बिहीबार यादवलाई राय सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदन सांसदहरुलाई अध्ययनका लागि वितरण गरिएको चौरसियाले जानकारी दिएका छन ।

चौरसियाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘प्रतिनिधिसभा र राष्ट्रिय सभामा अध्यादेशलाई पेश नगरी कार्यसूचीबाटै हटाएको अवस्थामा जसपा नेपालले अध्यादेशबारे कुनै औपचारिक निर्णय आजै नलिई उक्त प्रतिवेदन उपर थप अध्ययन र छलफल गरी संसदीय दलको अर्को बैठकमा देश र राष्ट्र हित हुने गरी ठोस निर्णय लिने जानकारी गराउन चाहन्छौं ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us