काठमाण्डू, २४ माघ– जिल्ला अदालत चितवनले पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
साहारा चितवन सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ । ५४ लाख धरौटी माग गर्ने आदेश भएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिएका छन ।
साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए । उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो । कास्की, काठमाण्डू र रुपन्देहीमा रविविरुद्ध संगठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ ।