काठमाण्डू, २४ माघ– पूर्व गृहमन्त्री एवं एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले तत्कालीन विद्रोही माओवादीले सुरु गरेको सशस्त्र संघर्ष (जनयुद्ध) लाई हिंसाको संज्ञा दिएका छन । थापा बादल पूर्व माओवादी नेता हुन् । सशस्त्र संघर्षका क्रममा उनी कमाण्डर समेत रहेका थिए । उनकै नेतृत्वमा ठूला–ठूला युद्धहरु भएका थिए । उनले भने, ‘जनयुद्ध भनेको हिंसा नै हो । युद्ध भनेको हिंसा हो ।
त्यहाँ मर्ने र मार्ने हुन्छ । अहिले हाम्रो अध्यक्ष (केपी ओली) को भनाइमा मेरो कुनै आपत्ति छैन । यो कुरालाई माओवादीले पनि मान्छ ।’ आज बिहिबार पत्रकार महासंघ अछामले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले जनयुद्ध हिंसा नै भएको दाबी गरे ।
प्रत्येक हिंसालाई युद्ध मान्न नसकिने उनको तर्क छ । नेता बादलले माओवादीले जनयुद्ध दिवस मनाउनको कुनै औचित्य नरहेको पनि बताए । जनयुद्ध दिवस दुनियाँमा कहीँकतै पनि नमनाइने बताउँदै उनले जनयुद्ध दिवस मनाउने माओवादीको डिसिजन गलत रहेको बताए ।
‘माओवादीले जनयुद्ध दिवस मनाउने भनेर निर्णय गर्यो, उनीहरुको सरकार हुँदा । हुन त पछि अदालतले त्यसलाई खारेज गर्दिएछ । जनयुघद्ध दिवस मनाउने होईन, कहीँ पनि दुनियाँमा त्यस्तो मनाइँदैन । माओवादीहरुको एक ढंगको स्टन्टबाजी हो । गणतन्त्र दिवस मनाउने हो, उनले भने ।