कार्यवाहक मेयरले ताला लगाउने, मेयरले फोड्ने

काठमाण्डु टुडे २०८१ माघ २४ गते १३:४३ मा प्रकाशित

काठमाण्डू, २४ माघ– डेढ सातादेखि इटहरी उपमहानगरपालिकाका कार्यवाहक मेयर संगीताकुमारी चौधरीले प्रशासन शाखामा लगाइदिएको ताला बुधबार फोडेर खुलाइएको छ । मेयर हेमकर्ण पौडेलद्वारा जारी विज्ञप्तिमा चौधरीसँग पटक–पटक सहमति गर्दा पनि सम्भव नभएपछि वडा र उपमहानगरपालिकाका सेवा प्रभावित भएकाले स्थानीय सरकारका प्रमुखको हैसियतले ताला फोडेर सहज बनाएको बताइएको छ ।

मेयर पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘माघ १३ गते कर्मचारी टे«न युनियनहरूले चौधरीले ४८ घन्टाभित्र कर्मचारीमाथि दुव्र्यवहार गरिएको विषयमा माफी माग्नुपर्ने विज्ञप्ति जारी गरेको सम्बन्धमा पटक–पटक छलफल गर्दा पनि सो समयभित्र कुनै निष्कर्षमा पुग्न सकिएन ।’

विज्ञप्तिअनुसार कर्मचारी टे«ड युनियनहरूले पुनः माघ १५ र २० गते आन्दोलनका कार्यक्रमसहित प्रेस विज्ञप्ति जारी भएपछि उपमेयरसहित जनप्रतिनिधिसँग बुधबार पनि समस्या समाधान गर्न छलफल हुँदा पनि प्रशासन शाखामा लगाएको ताला खोल्ने सहमति नहुँदा सेवा प्रभावित हुन नदिन ताला फोडेर काम सुचारु गरिएको छ ।

माघ ११ गते कार्यवाहक मेयरको हैसियतमा चौधरीसहित केही जनप्रतिनिधिले इटहरी उपमहानगरपालिका प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कालाई दुव्र्यवहार गर्दै कार्यालयबाट बाहिर निकालेर तालाबन्दी गरिएको थियो । त्यसपछि प्रमुखलाई दुव्र्यवहार गरिएको विषयमा ४८ घन्टाभित्र माफी माग्नुपर्ने कर्मचारी टे«ड युनियनहरूले माघ १३ गते पहिलो चरणमा अल्टिमेटम दिएका थिए ।

त्यतिबेला कर्मचारी टे«ड युनियनहरू नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सुनसरी, राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी र एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरीले विज्ञप्ति जारी गरेका थिए । इटहरीका मेयर हेमकर्ण पौडेल पारिवारिक कामले भारत गएपछि उपमेयर चौधरीलाई कार्यवाहकको जिम्मेवारी दिइएका बेला चौधरीसहित एमालेबाट विजयी केही वडाध्यक्षसहित प्रशासन शाखामा पुगेर शुक्रबार खड्कामाथि दुव्र्यवहार गरेकी थिइन् ।

दुव्र्यवहार गर्नुको कारण खड्काले सरुवा गरिएका कर्मचारीलाई सम्बन्धित वडामा हाजिर हुन ताकेता गरेको र वडाहरूको कार्यालय सञ्चालनका लागि कर्मचारीलाई पासवर्ड नदिएको विषय रहेको थियो। यद्यपि, सामाजिक सञ्जालमा चौधरीले सेयर गरिएको भिडियोमा सर्बर डाउन गरिएको भनेर उल्लेख गरिएको थियो ।

यसैबिच, मेयर पौडेलले ताला फोडेको विज्ञप्ति जारी गरेसँगै कर्मचारी ट्रेड युनियनहरू नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति सुनसरी, राष्ट्रिय कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी, एकीकृत सरकारी कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी र नेपाल निजामती कर्मचारी स्थानीय कमिटी इटहरीले पनि अब आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us