काठमाण्डू, २४ माघ – संघीय संसदका दुवै सदनमा बिहीबार अध्यादेश स्वीकृतिका लागि प्रस्तुत नहुने भएको छ । सरकारले हालै ल्याएका विभिन्न ६ अध्यादेश स्वीकृतिका लागि बिहीबार प्रतिनिधिसभा र राष्ट्रियसभा दुवैमा स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची थियोे ।
राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी (नेपाल) जसपाको समर्थन पाउन प्रयास गरिरहेको सरकार अध्यादेश पेश गर्ने तयारीबाट पछि हटेको हो । कानूनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष नारायण दाहाललाई भेटेर आज अध्यादेश पेश नहुने जानकारी गराएका छन् ।
जसपा अध्यक्ष उपेन्द्र यादवले बुधबार राति र बिहीबार बिहान एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संवाद गरेका थिए । जसपाले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेशमा सुझाव दिन कार्यदल गठन गरेको थियो । कार्यदलले भूमिसम्बन्धीबाहेक अन्य ५ अध्यादेशमा समर्थन गर्न सकिने सुझावसहित प्रतिवेदन तयार पारेको छ ।
५९ सदस्यीय राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा छ । काँग्रेसका १६, एमालेका १०, मानोनित दुर्इंं र लोसपाको एक गरी सत्तापक्षका २९ सांसद छन् । बहुमतका लागि कम्तिमा ३० सांसदको समर्थन चाहिन्छ ।
बिहीबार संसदमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन० अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गर्ने कार्यसूची थियो ।