काठमाण्डू, २४ माघ– चितवनको साहारा सहकारी ठगी मुद्दामा चितवन प्रहरीको न्यायिक हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको विपक्षमा बहस गर्न छिमेकी जिल्लाबाटसमेत सरकारी वकिलहरू झिकाइएको छ ।
चितवनका जिल्ला न्यायधिबक्ता रवि न्यौपाने, अमृत सुवेदी, बुद्धबहादुर थापासहित ३ जना सरकारी वकिलले बुधबार बहस गरेका थिए । तर, महान्याधिवक्ता कार्यालयले लामिछानेविरुद्धको ठगी मुद्दाको बहसलाई बलियो बनाउन भन्दै छिमेकी जिल्ला बारका जिल्ला न्यायधिवक्ता शम्भुकुमार बस्नेत, पर्सा जिल्लाका न्यायधिवक्ता भोलानाथ निरौला र धादिङ्ग जिल्लाबाट दशरथ पंगेनीलाई चितवन झिकाएको छ ।
चितवन आएका तीनै जना सरकारी वकिलले साहारा बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा चितवन अदालतमा परेको लामिछाने विरुद्दको मुद्दामा बहस थालेका छन् । जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार महान्याधिवक्ता कार्यालयको निर्देशनमा उनीहरु चितवन आएका हुन् ।
सहकारी ठगीको मुद्दामा चितवन जिल्ला अदालतका न्यायधीश दयाराम ढकालको इजलासमा दोस्रो दिनको बहस अहिले चलिरहेको छ । सहकारी पीडितको तर्फबाट अधिवक्ता राजकुमार श्रेष्ठ, रमेश काफ्ले, सुनिता अधिकारी, शम्भु बर्तौलाले बहस गर्दैछन् । यस्तै आज सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, रामचन्दै गौतमले बहस गर्ने भन्दै वकालतनामा दर्ता गराएका छन् ।