काठमाण्डू, २३ माघ– दलित युवामाथि गृहमन्त्री रमेश लेखककै निर्देशनमा अत्याचार भएको भन्दै दलितका लागि दलित अभियानले विरोध प्रदर्शन गरेको छ ।
आज (बुधबार) दलितका लागि दलित अभियानले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । मङ्गलवार गृहमन्त्री लेखकले अन्तरजातीय बिहे गर्ने दलित युवामाथि अत्याचार भएको भन्ने समाचार बाहिर आएको थियो ।
आजै दलित विद्यार्थीहरूले माइतीघरमा पत्रकार सम्मेलन समेत गरेका थिए । अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका सत्येन्द्रकुमार राममाथि प्रहरीले पटकपटक यातना दिएको आरोप छ । उनले सर्लाहीकै नेहा रौनियारसँग विवाह गरेका थिए ।
उनीविरुद्ध बालविवाहको मुद्दा दायर गरिएको छ । प्रहरीले उनलाई मुम्बईसम्म पुगेर पक्राउ गरेको थियो । अन्तरजातीय विवाह छुटाउनकै लागि गृहमन्त्रीकै निर्देशनमा यसरी यातना दिइएको आरोप छ ।