अब काठमाण्डूका ३६ ठाउँमा अब यात्रु आफैंले ट्राफिक लाइट बालेर सडक ‘क्रस’ गर्न सक्ने

काठमाण्डु टुडे २०८१ माघ २३ गते १४:२८ मा प्रकाशित

काठमाण्डू, २३ माघ– काठमाण्डू महानगरपालिका भित्रका विभिन्न ३६ ठाउँमा अब पैदल यात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बालेर सडक क्रस गर्न सक्ने भएका छन ।

पैदल यात्रुको सुरक्षालाई मध्यनजर गर्दै काठमाण्डू महानगरले अहिलेसम्म ३६ स्थानमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा ल्याएको महानगरका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिएका छन ।

महानगरले बुधबारदेखि बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पस अगाडिको सडकमा उक्त प्रविधि जडान गरेको हो । योसँगै यस्तो प्रविधिबाट महानगरका ३६ स्थानमा ट्राफिक बत्ती बालेर सडक क्रस गर्ने सुविधा रहेको उनले बताए । उनले सडक दुर्घटना न्यूनीकरण र यात्रुको सुरक्षाका लागि उक्त प्रविधिको अवधारणा ल्याइएको जानकारी दिए ।

पेलिकन क्रसिङ गर्दा यात्रुले बटन थिच्ने बित्तिकै केही समयका लागि सवारीसाधन रोकिनेछन् र यात्रुले ढुक्कका साथ क्रस गर्न सक्ने उनले जानकारी दिएका छन ।

यात्रुको सुरक्षालाई मध्यनजर गर्दै महानगरपालिकाले अन्य ठाउँमा समेत यो प्रविधि जडान गरिने उनले जानकारी दिए । उनले भने, ‘यसलाई बटन क्रसिङ भन्छ । जबसम्म यसमा रहेको बटनलाई ‘पुस’ गरिँदैन यसले काम गर्दैन । पुस गरिसकेपछि यसले आफ्नो समयमा काम गर्छ । अहिले जथाभावी क्रस गर्ने भएको कारण सुरक्षित छैन ।

अहिले हामीले ३६ ठाउँमा यो राखेका छौं । यसमा पुस गरिसकेपछि निश्चित समयका लागि गाडि रोकिन्छ । र ढुक्कका साथ बाटो काट्नसक्छ । यात्रुको सुरक्षालाई मध्यनजगर गरेर काठमाण्डू महानगरपालिकाले यो कामहरु गर्न थालेको हो,’ उनले भने । सडक सुरक्षाका लागि जेब्रा क्रसिङमा ट्राफिक लाइट राखिनु उदाहरणीय काम भएको भन्दै स्थानीय खुसी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us