काठमाण्डू, २३ माघ– एमाले महासचिव शंकर पोखरेलले वर्तमान सरकारका कारण मुलुकमा लगानीको वातावरण बनेको दाबी गरेका छन् ।
जापानमा रहेका पार्टी कार्यकर्तासँगको भेटमा उनले सरकारले लगानीमैत्री वातावरण बनाएको दाबी गरेका हुन् ।
काँग्रेस र एमालेजस्ता दुई शक्तिशाली दल मिलेर बलियो सरकार बनेपछि राजनीतिक स्थायित्व कायम भएको उनले बताए । राजनीतिक स्थायित्व हुने भएपछि निजी क्षेत्रको मनोबल उच्च भएको जिकिर पनि उनले गरे ।
‘दुई शक्तिशाली पार्टीहरु मिलेर बलियो सरकार बनाएपछि देशमा राजनीतिक स्थायित्व कायम भएको छ’, पोखरेलले भने, ‘निजी क्षेत्रको मनोबल उकासिनुका साथै लगानीको वातावरण बनेको छ ।’
उनले विदेशी लगानी आकर्षित गर्ने वातावरण बनाउन सरकार क्रियाशिल रहेको दाबीसमेत गरे । पोखरेलले सरकारकै प्रयासका कारण आर्थिक क्षेत्रमा विद्यमान संकट समाधानको दिशामा उन्मुख भएको पनि जिकिर गरे ।