रवि लामिछानेविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन नमानेपछि सरकारी वकिलको रातारात सरुवा

काठमाण्डु टुडे २०८१ माघ २३ गते १०:१३ मा प्रकाशित

चितवन, २३ माघ– सरकारले चितवनका जिल्ला न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलको सरुवा गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई संगठित अपराध कसुरमा उन्मुक्ति दिएको आरोपमा उनको सरुवा भएको हो ।

लुइँटेललाई महान्यायाधीवक्ता कार्यालयमा तानिएको छ । उनको ठाउँमा उच्च सरकारी वकिल कार्यालय बुटवलमा कार्यरत रवि न्यौपानेलाई ल्याइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालयले मंगलबार साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन कसुरमा १२ जनाविरुद्ध संगठित अपराध मुद्ध दायर गरेको थियो ।

रवि लामिछानेसहित ३२ जनाविरुद्ध संगठित अपराधमा मुद्धा चलाउन प्रहरीले पुरक अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

लुइँटेलले लामिछाने गोर्खा मिडियामा मात्र संलग्न रहेको देखिएकाले उनलाई संगठित अपराधमा मुद्धा चलाउन नमिल्ने तर्कसहित जिल्ला अदालतमा १२ जनाविरुद्ध मात्र मुद्धा दर्ता गरे ।

गोर्खा मिडियाका अध्यक्ष जीबी राई, छविलाल जोशी र कुमार रम्तेलको दुई वा सो भन्दा बढी कम्पनीमा साझेदारे देखिएको तर, लामिछानेको साझेदारी गोर्खा मिडियामा मात्र भएकाले उनीविरुद्ध संगठितमा मुद्धा चलाउन नमिल्ने लुइँटेलले बताएका थिए ।

लामिछानेबाहेक २० जनालाई भने सहकारीको रकम अपचलनमा मात्र मुद्धा दायर भएको छ । प्रहरीे प्रतिवेदनमा साहारा चितवन सहकारीको १० करोड ८० लाख १८ हजार १ सय ५१ रुपैयाँ गोर्खा मिडयामा गएको देखिएको उल्लेख छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us