काठमाण्डू, २२ माघ– कांग्रेसको पोखरामा जारी प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा नेता शेखर कोइराला अनुपस्थित भएका छन् ।
कोइरालाले आफूलाई कार्यक्रमबारे खबरै नगरिएको भन्दै असन्तुष्टि जनाए । संस्थापन समूहले आफूलाई बाइपास गर्न खोजेको उनको भनाइ छ ।
सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेता पोखरामै छन् । कोइरालाले आफू भने काठमाण्डूमै रहेको बताए ।
उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा नीति तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा सातवटै प्रदेशक सभापतिसहित पदाधिकारी तथा ७७ वटै जिल्लाका अध्यक्ष र उपाध्यक्ष तथा भातृ र शुभेच्छुक संस्थाका अध्यक्षहरु सहभागी छन् । कोइरालाले निम्तो नआएकाले कार्यक्रममा नगएको बताए ।
‘मलाई कार्यक्रमबारे जानकारी पनि थिएन । निम्तो पनि थिएन’, कोइरालाले भने, ‘देशभरिका साथीहरु आएको ठाउँमा म जाँदा सायद उहाँहरु (संस्थापन) लाई अप्ठ्यारो हुने भन्नुभयो होला ।’ कोइरालाले कार्यक्रममा नबोलाइँदैमा राजनीतिमा आफ्नो औचित्यता कमजोर हुन्छ भन्ने नलागेको बताए ।
‘पदाधिकारी साथीहरुलाई थाहा होला, उहाँहरुले किन मलाई बोलाउन आवश्यक ठान्नुभएन’, कोइरालाले काठमाण्डू टुडेसँग भने, ‘यसले मलाई केही फरक पर्दैन । मैले देशभरका नेता कार्यकर्ता साथीहरुको भावना बुझिरहेको छु । मलाई कसैले चाहेर वा नचाहेर कार्यकर्ताबाट टाढा बनाउन सक्दैन ।’
यसअघिको अधिवेशनमा सभापतिमा देउवासँग पराजित भएका कोइराला आसन्न अधिवेशनमा सभापति बन्ने दौडमा छन् ।
दुई कार्यकाल लगातार सभापति भइसकेका देउवालाई विधानले यसपटक उम्मेदवार बन्न रोक्ने भएपनि कोइराला उत्साहित छन् ।
उनी आफ्नो पक्षमा वातावरण बनाउन देश दौडाहामा छन् । केही समयअघि उनले विराटनगरमा आफ्नो समूहको कोशी प्रदेश भेला गरेका थिए ।