कांग्रेसको मञ्चमा देउवा र खड्का मात्रै !

काठमाण्डु टुडे २०८१ माघ २२ गते १६:५५ मा प्रकाशित

काठमाण्डू, २२ माघ– सत्ताको प्रमुख घटक दल कांग्रेसले आज (मंगलबार) देखि जिल्ला सभापति र पार्टीको प्रशिक्षण विभागलाई प्रशिक्षण दिने कार्यक्रम सुरु गरेको छ ।

प्रशिक्षण लिनका लागि केही कांग्रेस पदाधिकारी तथा केही मन्त्रीहरू समेत पोखरा पुगेका छन्। तर, मञ्चमा सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का मात्रै थिए ।

उनीहरू एउटै सोफामा बसेका थिए। जबकि कार्यक्रममा पार्टीका अरु पदाधिकारी, सङ्घीय मन्त्री तथा मुख्यमन्त्रीसमेत सहभागी थिए। तर, मञ्चमा भने देउवा र खड्का मात्रै थिए ।

किन भन्ने प्रश्नमा कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भन्छन्, ‘यो पार्टीको नीतिअनुसार नै हो ।’ उनका अनुसार देउवा प्रमुख अतिथि र खड्का आयोजक केन्द्रीय नीति, अनुसन्धान प्रशिक्षण प्रतिष्ठान प्रमुख हुन् । त्यसैले उनीहरूलाई मात्रै मञ्चमा राखिएको हो । उनले भने, ‘कार्यक्रमलाई छिटो र छरितो बनाउने नीति पार्टीकै हो, लम्बेतान नगरौँ भन्ने हो। यसैअनुसार आज पनि त्यसो गरिएको हो। उद्घाटन सत्र बढीमा आधा घण्टामा सक्ने भन्ने नीति छ ।’

मञ्चमा देउवा र खड्का मात्रै भए पनि फ्लोरमा भने कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, परराष्ट्रमन्त्री आरजू राणा देउवा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत, सहमहामन्त्रीद्वय जीवन परियार र डिना उपाध्यायलगायतका नेताहरू छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us