काठमाण्डू,२२ माघ– सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपात हुने भएको छ ।
ती प्रदेशमा आगामी २४ घण्टामा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
हिमपात र वर्षातका कारण दैनिक जनजीवनका साथै सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सचेत रहन महाशाखाको आग्रह छ ।
तराईका जिल्लाहरुलाई भने बाक्लो हुस्सु र कुहिरोले ढाकेको छ ।