ओली र देउवाको उपेन्द्रलाई फोन, अध्यादेशमा सघाउन आग्रह

काठमाण्डु टुडे २०८१ माघ २२ गते ८:०५ मा प्रकाशित

काठमाण्डू,२२ माघ– प्रधानमन्त्री केपी ओली र प्रमुख सत्तारुढ घटक काँग्रेस सभापति शेरबहादुर देउवाले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई टेलिफोन गरी सरकारले हालै ल्याएका ६ अध्यादेश पारित गर्न सघाउन आग्रह गरेका छन् ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी रहेका बेला सोमबार ओली र देउवाले यादवलाई फोन गरी अध्यादेशमा सहयोग गर्न आग्रह गरेका हुन् ।

‘हाम्रो बैठक बसिरहेका बेला ओली र देउवाजीले पालैपालो फोन गरेर अध्यादेशमा सहयोग माग्नुभयो’, जसपाका एक वरिष्ठ नेताले भने, ‘अध्यक्षजीले पार्टीमा सरसल्लाह गरेर जवाफ दिन्छु भन्नुभएको छ ।’

सरकारले बुधबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकबाट अध्यादेश पारित गर्ने तयारी गरेको छ । जसपा बैठकले सह–अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा अध्यादेश अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

कार्यदललाई बुधबारको संसद बैठकअघि नै अध्ययन प्रतिवेदन बुझाउने कार्यादेश छ । अध्यादेश संघीय संसदका दुवै सदनको बहुमतले पारित गर्नुपर्छ । प्रतिनिधिसभामा झण्डै दुई तिहाई नजिक भए पनि राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा छ ।

५९ सदस्यीय राष्ट्रियसभामा बहुमतका लागि ३० सांसदको समर्थन चाहिन्छ । राष्ट्रियसभामा सत्तापक्षमा कांग्रेसका १६, एमालेका १०, मनोनीत २ र लोसपाका १ गरी २९ सांसद् छन् ।

यस्तै विपक्षमा माओवादीका १७, एकीकृत समाजवादीका ८ र राष्ट्रिय जनमोर्चाका १ गरी २६ जना छन् ।

३ सांसद रहेको जसपा निर्णायक देखिएको छ । जसपाले समर्थन गरेको अवस्थामा मात्र अध्यादेश स्वीकृत हुन सक्छ ।

दुईमध्ये एक मात्र सनदले अस्वीकृत गर्दा अध्यादेश निस्क्रिय हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us