राष्ट्रिय एकता बलियो बनाउन सामाजिक सञ्जाल विधेयकः सञ्चारमन्त्री गुरुङ

काठमाण्डु टुडे २०८१ माघ २० गते १६:४१ मा प्रकाशित

काठमाण्डू, २० माघ– नेपाल सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको राष्ट्रिय एकता बलियो बनाउने उद्देश्यले सामाजिक सञ्जाल विधेयक, २०८१ ल्याइएको दाबी गरेका छन ।

आज (आइतबार) आफ्नो गृहजिल्ला लमजुङको बेँसीसहरमा नेपाल प्रेस चौतारी नेपाल, जिल्ला शाखा लमजुङको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले यस्तो बताएका हुन । उनले लोकतन्त्रको मूलभूत सिद्धान्त, प्रेस स्वतन्त्रताको अभिव्यक्ति सिद्धान्तलाई आत्मसात गर्न र त्यसलाई थप व्यवहारिक रूपमा प्रभावकारी बनाउन उक्त विधेयक ल्याइएको पनि बताएका छन ।

सञ्चारमन्त्री गुरुङले भने, ‘विधेयक संसद‍्मा पेस भएको छ, त्यहाँ आवश्यक छलफल हुने नै छ , राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता तथा राष्ट्रिय एकतालाई बलियो बनाउन विधेयक ल्याइएको हो ।’

सामाजिक सञ्जाललाई नियमन र व्यवस्थित गर्न खोजिएको उल्लेख गर्दै उनले नियन्त्रण गर्ने उद्देश्य नभएको स्पष्ट पारे । उनले थपे, ‘मौलिक हकका रूपमा रहेको सूचनाको हकलाई कुण्ठित हुने विषयमा सरकार सचेत छ, जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रतासम्बन्धी कुण्ठित नहुने गरी विधेयक पेस गरिएको छ ।’ उनले प्रेस चौतारीले मुलुक र समाजका लागि खेलेको भूमिका राम्रो रहेको भन्दै प्रशंसा गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us