नवलपुरको अमलटारीबाट पोथी गैँडा स्थानान्तरण

काठमाण्डु टुडे २०८१ माघ २० गते १४:०७ मा प्रकाशित

काठमाण्डू, २० माघ– एकसिङ्गे गैँडाको आन्तरिक स्थानान्तरणको काम सुरु गरेको चितवन राष्ट्रिय निकुञ्जले एउटा पोथी गैँडा स्थानान्तरण गरेको छ । शनिबार अपराह्न निकुञ्जको पश्चिम क्षेत्र नवलपुर क्षेत्रबाट एउटा पोथी गैँडा पूर्वी क्षेत्रमा लगिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मागरले जानकारी दिएका छन ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीको गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनबाट करिब १५ वर्षीय वयस्क पोथी गैँडालाई डार्ट गरेर पूर्वी क्षेत्रमा लगिएको उनले जानकारी दिएका छन ।

निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि यहाँका चारवटा गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको उनले जानकारी दिए ।

सन् २०२२ मा गैँडाको आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि निकुञ्जले गत वर्ष ६ वटा गैँडा स्थानान्तरण गरेको थियो। अध्ययन टोलीले निकुञ्जलाई पश्चिम क्षेत्रका १० गैँडा स्थानान्तरण गर्न सुझाव दिएको आधारमा यसपटक थप चार गैँडा स्थानान्तरण गर्न लागिएको हो ।

गैँडा स्थानान्तरणका लागि प्राविधिक टोलीले नवलपुरमा पर्ने निकुञ्जको पश्चिम क्षेत्रको अमलटारीबाट गैँडा स्थानान्तरणको काम सुरु गरेको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us