काठमाण्डू, २० माघ– कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले नेपाली जनता भ्रमित भएर ठगलाई नेता मान्न पुगेको दाबी गरेका छन । हिजो (शनिबार) चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै कांग्रेस नेता भट्टराईले यस्तो बताएका हुन । उनले भने, ‘तपाईँ मूल्याङ्कन गर्नुस् हामीले दिएको ठिक कि रवि लामिछाने ठिक ?
हामीले दिएको उम्मेदवार ठिक कि हरि ढकाल ठिक ?’ चितवनका जनतालाई प्रश्न गर्दै कांग्रेस नेता भट्टराईले भने,‘मान्छेहरू कहाँ पुगे भने एउटा ठगलाई नेता मान्न पुगे।’ अन्तर्राष्ट्रिय स्तरमा ठग्दै हिँडेको व्यक्ति भन्दै भट्टराईले आरोपित गरे ।
‘७–८ वटा बैङ्क ठगेको। अमेरिकामा दुई वटा श्रीमती छोडेको, बालबालिकालाई बिचल्ली बनाएको। अनि अरबबाट एक दुई अरूको बच्चा गरिदिए वाह !’ जसले आफ्नो बालबच्चाको बिचल्ली बनाएर अमेरिकाबाट आएको छ त्यो मान्छे यहाँ लोकप्रिय भएको भन्दै उनले आश्चर्य प्रकट गरे ।
उनले थपे, ‘यो कुरा पनि हामीले बुझ्नुपर्छ। एउटा गोजीमा नेपाली पासपोर्ट छ, अर्को गोजीमा विदेशी पासपोर्ट बोकेको छ। एउटा खल्तीमा ग्रिन कार्ड छ, अर्कोमा नेपाली नागरिकता छ। एउटामा पिआर छ, अर्कोमा नेपाली नागरिकता छ, ‘एउटा गोडा विदेशमा छ, अर्को नेपालमा छ ।
आज रास्वपामा भएका धेरैको अवस्था त्यो छ।’ चितवनमै सहारा सहकारी ठगिएको उदाहरण दिँदै भट्टराईले अगाडि भने, ‘सात आठ हजार ठगिएका छन्, एउटा निर्वाचित सांसदले भन्छ–प्रबन्ध निर्देशकले चेक नकाटेर घाँस काट्ने हो भन्छ। कसको पैसाको चेक काट्यो ? उसलाई थाहा हुँदैन रे, जान्ने पार्टी नजितेसम्म जान्ने रहेछ, जितिसके पछि खान मात्र जान्ने।’