प्राप्त ज्ञानलाई मुलुकको समृद्धि र सुखका लागि प्रयोग गरौँः प्रधानमन्त्री ओली

काठमाण्डु टुडे २०८१ पुष १३ गते १६:३१ मा प्रकाशित

  काठमाण्डु, १३ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपाली शान्तिपूर्ण, सम्मानित, समृद्ध र सुखी रुपमा बाँच्न पाउने अवस्था सृजनाका लागि प्राप्त गरेको ज्ञानको प्रयोग गर्न दीक्षित विद्यार्थीलाई आग्रह गरेका छन ।

आज (शनिबार) त्रिभुवन विश्वविद्यालयद्वारा दशरथ रङ्गशालामा आयोजित ५० औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । विश्वविद्यालयका कुलपति ओलीले समाजलाई लोकतान्त्रिक, सुसंस्कृत र इमानदारपूर्ण बनाउन र विद्वान हुँ भन्ने कुनै घमन्ड नगरी विनयशील हुन पनि आग्रह गरेका छन ।

प्रधानमन्त्री ओलीले उपाधि पूरा भएपछि पनि अध्ययन पूरा नहुने भएकाले प्राप्त ज्ञानलाई व्यवहारिक जीवनमा उतारेर परिष्कृत गर्न पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, ‘आफैसँग भएको विद्या व्यवहारमा उतार्न सकिएन भने त्यो विद्या काम लाग्दैन ।

ज्ञानलाई व्यवहारिक रूपमा र समाजको समग्र पक्षको भलाइका लागि प्रयोग गर्नुपर्छ, ‘हामीले मुलुकलाई २० प्रतिशतमा रहेको निरपेक्ष गरिबीको स्थितिबाट मुक्त गर्ने पहिलो अभिभारा लिनुपर्छ ।

समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाको यात्रालाई हामीले अगाडि बढाउनुपर्छ । ’ प्रधानमन्त्री ओलीले नेपाल ज्ञान, ध्यान, योग र संस्कृतिको भूमि भएको उल्लेख गर्दै पुर्खाको ज्ञानप्रति कृतज्ञ भएर उनीहरूबाट सिक्नुपर्नेमा जोड दिए । कार्यक्रममा कुलपति ओलीबाट विभिन्न सङ्काय र तहका १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us