संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्दै रास्वपा, डिपीलाईनै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी

काठमाण्डु टुडे २०८१ पुष १२ गते १२:३२ मा प्रकाशित

काठमाण्डु, १२ पुस– आज शुक्रबार रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको सचिवालय बैठक बस्दै छ । संसदीय दलको कार्यवाहक नेताबारे छलफल गर्न आज दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको रास्वपाका एक नेताले जानकारी दिएका छन ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने बैठकमा संसदीय दलको कार्यवाहक नेता तोक्नेबारे छलफल हुने ती नेताले जानकारी दिए । ‘शुक्रबारको सचिवालय बैठक संसदीय दलको नेताको विषयमा छलफल गर्नका लागि हो,’ ती नेताले भने ।

सहकारी ठगी, संगठित अपराध र सम्पति शुद्धीकरण मुद्दा परेर पार्टी सभापति तथा संसदीय दलका नेता रवि लामिछाने गत सोमबार सांसद पदबाट निलम्बित छन् । हाल रास्वपा संसदीय दलको नेतामा पाँच आकांक्षी छन् ।

संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठ, कार्यवाहक सभापति डिपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले, सहमहामन्त्री सुमना श्रेष्ठ र सांसद चन्दा कार्कीले संसदीय दल नेताका रुपमा आफूलाई अघि सारेका छन् ।

अर्याल पार्टीमा पनि कार्यवाहक सभापति रहेकाले उनलाई नै संसदीय दलको कार्यवाहक नेता तोक्ने तयारी छ । तर निलम्बित सांसद तथा सभापति रविले कार्यवाहक सभापतिमा अर्याललाई हिरासतबाटै ‘टीका लगाइदिएको’ भन्दै रास्वपाभित्रको एउटा पक्ष असन्तुष्ट छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us