काठमाण्डु, ११ पुस– नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आफूलाई भ्रमणको निम्तो नआएको ‘ब्रिफिङ’ गरेका छन् ।
हिजो (बुधवार) बसेको सचिवालय बैठकमा पछिल्लो राजनीतिक अवस्था र बाह्य सम्बन्धबारे ब्रिफिङ गर्दै ओलीले भारतबाट आफूलाई अहिलेसम्म भ्रमणको निम्तो आइनसकेको जानकारी सचिवालयका एक सदस्यले जानकारी दिएका छन । ‘अहिलेसम्म भारतबाट भ्रमणको निम्तो आइसकेको छैन ।
सम्भवतः छिटै आउँछ भन्ने विश्वास छ’, सचिवालय बैठकमा प्रधानमन्त्री ओलीको भनाई थियो । त्यसक्रममा प्रधानमन्त्री ओलीले उत्तरी छिमेकी चीन भ्रमणका क्रममा दुई देशबिच भएको बीआरआई सम्झौता नेपालको विकासका लागि दीर्घकालीन महत्वको हुने र त्यसबाट नेपालले विकासमा फड्को मार्न सक्ने बताएका थिए ।
यसअघि मङ्सिर २० गते चार दिने चीन भ्रमण पुरा गरेर स्वदेश फर्केका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूले सोधेको प्रश्नमा भारत भ्रमणको ‘एरेन्ज’ व्यवस्थापन गर्ने जवाफ दिएका थिए ।
ओलीले यस्तो बताए पनि अहिलेसम्म भारतले प्रधानमन्त्रीको भ्रमणका लागि तयारी र चासो दुवै नदेखाएको राजनीतिक तथा कूटनीतिक वृत्तमा चर्चा भइरहेको छ ।