काठमाण्डु, १० पुस– कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मुलुकको विकासका लागि नेपाली कांग्रेसले जति काम अरु कुनैपनि पार्टीले नगरेको दाबी गरेका छन ।
आज बुधबार काठमाण्डुमा आयोजित सय दिने पार्टी सुदृढीकरणको कार्यक्रमलाई सम्बोधन गर्ने नेता सिटौलाले यस्तो बताएका हुन ।
उनले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले नै गरेको बताए । कांग्रेस नेता सिटौलाले भने, ‘समग्रमा हामीले मुल्यांकन गर्ने हो भने जनताको अधिकारको लागि, देशको विकासको लागि, जनताको आर्थिक प्रगतिको लागि नेपाली कांग्रेस पार्टीले जे जति काम गरेको छ, अरु कुनैपनि पार्टीले त्यति गरेको छैन ।
यो त दाबाका साथ हामी भन्छौं ।’ नेता सिटौलाले कांग्रेसकै पहलमा जनताले प्रथम जननिर्वाचित प्रधानमन्त्री पाएको उल्लेख गदै सिटौलाले निरंकुश राणा साशनको अन्त्यदेखि दरबारिया व्यवस्थाको विरुद्ध कांग्रेसले निरन्तर संघर्ष गरेर लोकतन्त्र ल्याइएको बताएका छन ।
उनले भने, ‘संविधान सभाको कुरा २००७ सालमै नेपाली कांग्रेसले उठाएको कुरा हो । पहिलोपटक जनताले निर्वाचित गरेको प्रधानमन्त्री जनताले पाए । त्यो नेपाली काग्रेसकै पहलमा भएको हो, ‘तर २०१७ साल पुस १ गते संविधान च्यातेर सेना लगाएर टुँडिखेलबाट पक्राउ गरेर लगे प्रधानमन्त्रीलाई ।
पार्लियामेन्ट भंग भयो । फेरि बहुदलीय लोकतन्त्र भंग गरेर अर्को संविधान जारी गरे । दरबारिया व्यवस्था । त्यो विरुद्ध हामीले निरन्तर संघर्ष गर्यौं ।’