काठमाण्डु, १० पुस– आज बुधबार इसाइ धर्मका प्रवर्तक येशु ख्रिष्टको जन्मदिन ‘क्रिसमस डे’नेपालमा पनि मनाइएको छ । काठमाण्डु उपत्यकामा इसाइ धर्मावलम्बीका साथै अन्य धर्मावलम्बीले पनि क्रिसमस डे मा आपसमा खुशियाली साटासाट गरेर मनाएका छन ।
अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा पर्ने क्रिसमसमा अभिभावकले बालबालिकालाई मनोरञ्जनस्थल, सपिङ मल घुमाउने, उपहार किनिदिने, फिल्म हेराउने आदि गरेका छन् । बालबालिकालाई लक्षित गरी सपिङ मलहरु सजाइएका छन् ।
ललितपुरको लबी मलमा जहाँ फोटो खिच्न बालबालिका र युवा युवती झुम्मिएका छन् । बजार र ठूला व्यापारिक स्थलमा क्रिसमस ट्री राखिएका छन् । नेपाल ख्रिष्टियन महासंघ मूल समारोह समितिको आयोजनामा आज दिउँसो क्रिसमस महोत्सव २०८१ आयोजना गरिएको छ ।
नेपाल प्रज्ञा–प्रतिष्ठान कमलादीमा आयोजना गरिएको कार्यक्रममा सरकारका प्रतिनिधिसहित सबै राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहने महासंघका अध्यक्ष गहतराजले जानकारी दिएका छन ।