सहकारी ठगी प्रकरणः छविको बयान सकियो, लिला पछाईंको सुरु

काठमाण्डु टुडे २०८१ पुष ९ गते १७:०१ मा प्रकाशित

काठमाण्डु, ९ पुस– सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएको छ । हिजो सोमबारदेखि सुरु भएको पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान मंगलबार दिउँसो सकिएको जिल्ला अदालत कास्की स्रोतले जानकारी दिएको छ ।

योसँगै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा आइतबार मुद्दा दायर भएको थियो । पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ ।

बयानका लागि छवि, लिलासहित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, जीवीका साझेदर नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएको हो ।

सञ्चालक कृष्ण गुरुङ भने विरामी रहेकाले अदालत उपस्थित नगराइएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार जीवीसहित १९ जनाविरुद्ध थप अभियोजन दर्ता भएको थियो भने आइतबार ८ कम्पनी, ३१ जना व्यक्ति, ८ संस्था र ५ जनाको सम्पत्ति जफत गर्न थप अभियोजन दर्ता भएको हो । सूर्यदर्शन सहकारी ठगीमा संस्था र व्यक्ति गरेर ६३ जनाविरुद्ध थप अभियोजन अदालतमा दर्ता भएको छ ।

त्यसलगत्तै सोमबारबाट बयान सुरु भएको थियो । रवि लामिछानेलगायतको भने अझै बयान बाँकी छ । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुल मुद्दा दायर भएको थियो । आरोपितहरुमाथि करिब १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदावी गरिएको छ ।

सूर्यदर्शन सहकारीको रकम ठगी भएको विषयमा प्रहरीले पोखरा महानगरपालिकाको अध्ययन प्रतिवेदन, संसदीय विशेष समितिको प्रतिवेदन समेतलाई आधार मानेर थप अनुसन्धान अघि बढाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us