भक्तपुर बाबुछोरा हत्या प्रकरणः जेठा छोरा प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ पुष ९ गते १२:४८ मा प्रकाशित

काठमाण्डु, ९ पुस– हिजो सोमबार भक्तपुरको सूर्यविनायक नगरपालिका–२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्याबारे अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।

उनलाई महाराजगञ्जबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनले हत्यामा आफ्नो संलग्नता समेत स्वीकार गरिसकेको स्रोतले जानकारी दिएको छ ।

गत शनिबार कुलप्रसादसँगै उनका दुई छोरा जेठा मिलन र कान्छा प्रविणसँगै खाना खाएर बालकोटस्थित आफ्नो डेरा कोठामा सुतेका थिए । उक्त फ्ल्याटमा चार कोठा रहेकोमा दुई कोठामा भने अन्य व्यक्तिहरू भाडामा बस्दै आएका थिए ।

शनिबार खाना खाएर सुतेका उनीहरूको कोठा आइतबार बिहानै बाहिरबाट ताला लागेको थियो । कोठामा बाहिर ताला लागेकाले उक्त फ्ल्याटमा बस्ने अन्य व्यक्तिहरूले कतै गए होला भन्ने आशंका गरेका थिए ।

तर, आइतबार दिनभर, राति र सोमबार बिहानसम्म पनि केही चालचुल नभएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेर ढोकाको ताला फोडेर हेर्दा बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us