वर्तमान सत्तागठबन्ध ०८४ सम्मै जान्छः योगेश भट्टराई

काठमाण्डु टुडे २०८१ पुष ८ गते १६:२३ मा प्रकाशित

काठमाण्डु, ८ पुस– एमाले सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले हाल रहेको सत्तागठबन्धन २०८४ सालसम्मै जाने दाबी गरेका छन । आज सोमबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै एमाले सचिव भट्टराईले यस्तो बताएका हुन ।

बैठकमा माओवादी सांसद अमनलाल मोदीले लेखा समिति सभापति ऋषिकेश पोखरेलले मार्ग प्रशस्त गर्नुपर्ने बताएका थिए । लेखा समिति सभापति प्रमुख प्रतिपक्षीको हुने अभ्यास रहेको उल्लेख गर्दै सांसद मोदीले मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

त्यसको जवाफमा एमाले सचिव भट्टराईले विगतमा रहेको राजनीतिक परिस्थिति अनुसार संसदको पदाधिकारीबारे सहमति भएको बताए । राष्ट्रिय सभा अध्यक्ष, समिति सभापति सबैमा राजनीतिक परिस्थिति अनुसार चयन भएको उल्लेख गर्दै उनले अहिलेको परिस्थिति अनुसार सबै बदल्ने हो भने आफूहरू तयार रहेको बताए ।

‘अहिले कांग्रेस र एमालेको गठबन्धन सरकार छ । यो हाम्रो सहकार्य ०८४ सम्मै हुन्छ भनेका छौं । यो सहकार्य अब ३ वर्ष जान्छ,’ एमाले सचिव भट्टराईले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us