रास्वपाले बोलायो सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ पुष ८ गते १४:११ मा प्रकाशित

काठमाण्डु, ८ पुस– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक आज सोमबार दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको एक पदाधिकारीले जानकारी दिएका छन ।

आजको बैठकमा पछिल्लो समसामयिक राजनीति र पार्टी सभापतिको कार्यबाहक जिम्मेवारी तोक्नेबारे छलफल हुने ती नेताले जानकारी दिएका छन । बैठक भर्चुअल माध्यमबाट बस्ने छ ।

उनले भने, ‘आज दिउँसो ४ बजे बस्नेगरी बैठक तय भएको छ, हामी भर्चुअल माध्यमबाट बैठकमा जुट्छौं ।’ ती नेतका अनुसार कार्यबाहक सभापतिमा डोलप्रसाद अर्यालकै सम्भावना छ ।

उनले भने, ‘पहिल्यै केन्द्रीय समितिबाटै निर्णय भइसकेको हो । आज त्यसलाई औपचारिकता दिनुपर्छ कि भनेर छलफल गर्दैछौं ।’ यद्यपि पार्टीले निर्णय नलिइ त्यसबारे केही भन्न नसकिने ती नेता बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका सभापति रवि लामिछानेमाथि आइतबार मुद्दा दर्ता भएको छ । पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो । मुद्दा दायर भएसँगै रविको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us