थुनछेक बहसअघि कास्की जिल्ला अदालतमा सुरु भयो रवि लामिछानेको बयान

काठमाण्डु टुडे २०८१ पुष ८ गते ११:३८ मा प्रकाशित

काठमाण्डु, ८ पुस– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।

पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन कसुरमा बयानका लागि उनलाई अदालत लगिएको हो ।
लामिछानेको सुनुवाई न्यायाधीश नितिज राईको इजलासमा परेको छ ।

अदालतले सोमबारदेखि लामिछानेसहित प्रतिवादीहरूको बयान लिन सुरु गरेको हो । सबैको बयानपछि मात्र लामिछानेसहित प्रहरीबाट उक्त सहकारी ठगीको कसुरमा मुद्धा दर्ता गरिएका व्यक्तिहरुलाई लाई पुर्पक्षका लागि थुनामा राख्ने वा बाहिरै राखेर अदालती प्रक्रिया अगाडि बढाउने भन्नेबारे थुनछेक बहस प्रारम्भ हुनेछ ।

जिल्ला सरकारी वकिल जिल्ला अदालतमा लामिछानेसहित गोर्खा मिडियाका अध्यक्ष जिबी राई, उपाध्यक्ष नेपाल प्रहरीका पूर्वडीआइजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनालसहित ४४ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण, संगठित अपराध र सहकारी ठगी मुद्दा दर्ता गराएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us