पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ

काठमाण्डु टुडे २०८१ पुष ७ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, ७ पुस– प्रहरीले पाटेबाघ मार्ने उद्योगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपाने रहेका प्रहरीले जानकारी दिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तले जानकारी दिएका छन ।

न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत पन्तले जानकारी दिएका छन ।

पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा ५ (घ) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको उनले जानकारी दिएका छन ।

बाघलाई पासो थाप्न जाने क्रममा गत कात्तिक २ मा स्थानीय ६२ वर्षीय जीतबहादुर थिङलाई बाघले आक्रमण गरी मारेको थियो । थिङको मृत्यु पश्चात पासोका लागि प्रयोग भएका सामान सोही दिन बरामद गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us