काठमाण्डु, ७ पुस– कांग्रेस महामन्त्री गगन थापाले संविधान संशोधनका लागि केही दिनभित्र सत्ता घटक दल कांग्रेस र एमालेकोबिचमा संयन्त्र बन्ने दाबी गरेका छन । आज आइबतार काठमाण्डुमा नेपाली कांग्रेस १०० दिने विशेष अभियान अन्तर्गत काठमाण्डु महानगर पालिका–३० को दोस्रो वडा सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।
उनले सरकारमा सहभागी दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनका लागि केही दिनभित्र नै संयन्त्र बनाएर काम सुरु गर्ने पनि बताएका छन ।
उनले संयन्त्र बनाउँदा सुझबुझपूर्ण बनाइने र सम्हालिएर संविधान संशोधन गर्ने बताएका छन । सबै राजनीतिक दलहरूसँग छलफल गरेर संविधान संशोधन गर्नुपर्ने न्यूनतम कुराहरूको संशोधन हुने बताउँदै उनले संयन्त्रले सुरुमा काँग्रेस र एमालेबिच समझदारी बनाउने र पछि अन्य राजनीतिक दलहरूसँग छलफल गरेर मात्रै सबैको सहमतिअनुसार संविधान संशोधन हुने महामन्त्री थापाले बताएका छन ।
थापाले एमाले र कांग्रेसले चाहेर मात्रै संविधान संशोधन नहुने भन्दै माओवादी, मधसवादी राजनीतिक दलहरुसँगको समझदारीबाट संशोधन गर्ने बताएका छन ।
सांसदलाई समावेशी बनाउने, मन्त्रीपरिषद्लाई समावेशी बनाउने र एउटा कार्यकाल एउटै राजनीतिक दलले देशको नेतृत्व गर्नसक्ने गरीकन संविधान संशोधन गर्ने उनले बताए । महामन्त्री थापाले ०८४ को निर्वाचनमा जाँदै गर्दा ०८१/०८२/०८३ को जिम्मेवारीबाट भाग्न नहुने बताए । उनले यो अवधिमा आफूले गरेका कामहरूको फेहरिस्त बोकेर जनतासँग जानसक्ने हैसियत बनाउनुपर्ने बताए ।
अहिलेसम्म निर्वाचन भन्दा अगाडिको अवधिको जिम्मा लिने कुनैपनि राजनीतिक दल, शक्ति व्यक्ति नरहेको भन्दै अब जिम्मेवारी लिनेगरी मात्रै जनतामाझ जानुपर्ने अवस्थाको शुरुवात गर्न आवश्यक भएको बताएका छन ।