रवि लामिछानेविरुद्ध ३ कसुरमा अदालतमा मुद्दा दर्ता
काठमाण्डु टुडे
२०८१ पुष ७ गते १३:३१ मा प्रकाशित

काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
मिछानेविरुद्ध अदालतमा अभियोग पत्र दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्ति देवी शर्माले जानकारी दिएकी छन ।
लामिछाने विरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको उनले जानकारी दिएकी छन । पूर्व डीआईजी छविलाल जोशी पक्राउ परेको दिनबाट ९२ औँ दिनमा सरकारले लामिछाने र जोशी सहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।
५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागी मात्र प्रतिवादी कायम गरिएको छ । प्रहरीले ५१ जनालाई प्रतिवादी कायम गर्न सरकारी वकिललाई राय दिएको थियो । लामिछाने सहित ४९ जनालाई सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराध गरेको कसुरमा तथा जीवी राई र लीला पछाईंलाई राष्ट्रबैंक ऐन अन्तर्गतको कसुरमा पनि सजाय गर्न मागदावी लिनुपर्ने राय दिएको थियो । तर, सरकारी वकिलले प्रतिवादीको संख्या घटाएर मुद्दा दायर गरेको छ ।
रवि लामिछाने र जीवी राई सहितको समूहले सूर्यदर्शन सहकारीबाट १ अर्ब ५१ करोड अपचलन गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सुर्यदर्शनको ५ करोड ४८ लाख निक्षेप गोरखा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको भेटिएको छ ।