काठमाण्डु, ७ पुस– सहकारी ठगी प्रकरणमा पक्राउ परेर हाल प्रहरी हिरासतमा रहेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको मुद्दा जिल्ला अदालतमा पेश भएको छ ।
साढे चार सय पेज लामो आरोपत्र र त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिएकी छन । अहिले जिल्ला अदालतमा त्यसलाई रुजु गर्ने काम भइरहेको उनले जानकारी दिएकी छन ।
जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको र अध्ययन गर्ने क्रम चलिरहेको जानकारी दिएका छन । सहकारी ठगीको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध पनि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ती शुद्धीकरणमा मुद्दा दर्ता गर्ने तयारी छ ।
उनलाई आज बिहान जिल्ला अदालतमा उपस्थित गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले यही पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ । सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका रवि कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनी कात्तिक २ गते काठमाण्डुबाट पक्राउ परेका थिए ।