तेह्रथुम, ७ पुस– टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु भएको छ ।
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ स्थित गौखुरी माध्यमिक विद्यालयकी शिक्षिका (नर्स) रविना राजवंशी र कक्षा ७ की छात्रा १२ वर्षीया सुस्मिता भटराईको टिकटक बनाउने क्रममा लडेर शनिबार मृत्यु भएको हो ।
खोरुङ्गा खोलामा नुहाउन गएका बेला टिकटक बनाउने क्रममा लडेर उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्तेलुङले जनाएको छ ।
तेह्रथुम प्रहरीकी डीएसपी चिनिमाया तामाङले खोचमा खसेका कारण उद्धार हुन नसक्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जानकारी दिइन् ।
उनका अनुसार सँगै टिकटक बनाउन गएकी प्रत्यक्षदर्शी अर्की छात्रा भने घटनापछि अचेत छिन् ।