काँग्रेसलाई केपी ओलीसँगको सहकार्य हाम्रा तरबारको धारमा हिंड्नुजस्तै भएको छः कोइराला

काठमाण्डु टुडे २०८१ पुष ७ गते ९:०६ मा प्रकाशित

काठमाण्डु, ७ पुस– कांग्रेसका नेता शेखर कोइरालाले एमाले र प्रधानमन्त्री केपी ओलीसँगको सहकार्य आफूहरुका लागि तरबारको धारमा हिंडेको जस्तो भएको बताएका छन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनलाई शनिबार सम्बोधन गर्दै कोइरालाले प्रमुख प्रतिस्पर्धी पार्टीसँग सरकारमा गरिएको सहकार्य जाखिमपूर्ण रहेको बताए ।

उनले गत १७ असारमा काँग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिको भावनाअनुसार सरकार अघि नबढेको भन्दै असन्तुष्टि जनाए । ‘एमाले र केपी ओलीसँगको सहकार्य हाम्रा लागि तरबारको धारमा हिंडेको जस्तो हो’, कोइरालाले भने, ‘जुनसुकै चुनावमा हाम्रो प्रतिस्पर्धा एमालेसँग हुन्छ ।’

उनले सरकारमा सहभागी मन्त्रीहरुले एमाले आफ्नो प्रतिस्पर्धी दल हो भन्ने भावनाका साथ काम गर्नुपर्ने सुझाव कोइरालाको थियो । यद्यपि वर्तमान सरकार असफल भए मुलुक अराजकतातिर जाने जिकिर पनि कोइरालाले गरे ।

कोइरालाले सरकारले गरेको गलत कामको विरोध गर्न नेता कार्यकर्तालाई अपिल गरे । ‘कांग्रेस पनि सरकारमा छ भन्दैमा चुप लागेर बस्न सकिँदैन’, कोइरालाले भने, ‘ सरकारले गरेको गलत कामको हामीले विरोध गर्नुपर्छ ।’

कोइरालले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल उठाउन उद्योगको लाइन काट्न प्रधानमन्त्री केपी ओलीले संसदको रोष्ट्रममा उभिएर विद्युत जोड्ने बताएको स्मरण गरे ।

‘कुलमान घिसिङले उद्योगको बक्यौता उठाउनुपर्छ भनेर लाइन काटिदिनुभयो । प्रधानमन्त्रीले संसदको रोष्ट्रममा उभिएर खोल्छु भन्नुभयो । दुई चार करोडको कुरा छैन । अर्बौंको कुरा छ । हामीले दुई महिना विद्युतको पैसा नतिरे काट्दिन्छ, तर प्रधानमन्त्रीले बत्ती जोड्न निर्देशन दिनुभयो । त्यो गलत कुरा हो’, कोइरालाले भने ।

सरकारको राजस्व बढाउन प्रधानमन्त्रीलाई चिन्ता नभए जस्तो देखिएको आरोप पनि कोइरालाले लगाए । यस्तै प्रधानमन्त्री ओलीले ल्याउन लागेको दल विभाजनसम्बन्धी अध्यादेश आफूहरुको विरोधका कारण रोकिएको कोइरालाले स्पष्ट गरे ।

नेता कोइरालाले सहकारी ठगी प्रकरणमा मानिस पक्राउ गर्न मात्र सरकारले ध्यान दिएको भन्दै पीडितले पैसा फिर्ता पाउनुपर्नेमा जोड दिए । सरकारले रकम फिर्ता गराउन पहल नगर्दा पीडितहरु सडकमा उत्रिएको कोइरालाले उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us