मुग्लिन–काठमाण्डु सडक दैनिक तीन घण्टा बन्द

काठमाण्डु टुडे २०८१ पुष ७ गते ८:१५ मा प्रकाशित

चितवन, ७ पुस– मुग्लिन–काठमाण्डु सडक आइतबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाले एक सूचना जारी गर्दै स्तरोन्नतिसहित निर्माणाधीन उक्त सडक विस्तारका क्रममा घुम्तीलगायत केही स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सडक बन्द गरिने जनाएको छ ।

उक्त सडक भएर आवतजावत गर्ने सवारी चालकलाई लेन अनुशासन पालना गरी सवारी चलाउन आयोजनाले आग्रह गरेको छ ।
एम्बुलेन्स, दमकल र प्रहरीका सवारी साधन भने चल्ने बताइएको छ ।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिने छ ।

चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ ।

विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us