नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउँछुः शेखर कोइराला

काठमाण्डु टुडे २०८१ पुष ६ गते १८:२० मा प्रकाशित

काठमाण्डु, ६ पुस– कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेसको १५ औँ महाधिवेशनपछि आफूले युग सुहाउँदो कांग्रेस बनाउने बताएका छन ।

आज (शनिवार) नेपाल प्रजातान्त्रिक सेनानी सङ्घको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन ।

उनले भने, ‘अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ ।’ पार्टीभित्र एकता र सहकार्यलाई जोड दिइनुपर्ने र त्यसका लागि आफू नेतृत्व लिन तयार रहेको समेत बताएका छन ।

सम्बोधनका क्रममा उनले भने, ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन ०८२ भित्रै हुनुपर्छ । पार्टीको विधान अनुसार महाधिवेशन हुनुपर्छ । यसमा किन्तु परन्तु भन्न पाइँदैन ।’

महाधिवेशनले पार्टीलाई नयाँ जीवन दिने समेत उनले बताए । कोइरालाले भने, ‘महाधिवेशनले नयाँ कार्यदिशा तय गर्छ, यसकारण महाधिवेशन बेलैमा हुनुपर्छ।’ नेपाली कांग्रेसलाई जोगाउन तथा लोकतन्त्रको सुदृढीकरण गर्नको लागि पनि महाधिवेशनको आवश्यक रहेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us