कांग्रेस, एमाले, माओवादी र मधेसवादी दल सबै भ्रष्टाचारमा लिप्त छन्ः बाबुराम भट्टराई

काठमाण्डु टुडे २०८१ पुष ६ गते १५:२२ मा प्रकाशित

काठमाण्डु, ६ पुस– पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक दलहरू चरम भ्रष्टाचारमा डुबेको आरोप लगाएका छन ।

आज (शनिबार) जनकपुरधाममा नेसपाको मधेस प्रदेश कमिटीको कार्यालय उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन । उनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र मधेसवादी राजनीतिक दलहरू चरम भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन ।

उनले आफूले गरेका भ्रष्टाचारहरू लुकाउन सरकार फेरिने र एकले अर्कोलाई आरोप लगाउने गरेको पनि बताएका छन । भ्रष्टाचार तन्त्रमा फसेको राजनीतिलाई भ्रष्टाचाररहित, सुशासनयुक्त राजनीति स्थापना गर्ने र देशमा तीव्र विकास र समृद्धि ल्याउने एजेन्डा आफूले बोकेको पनि उनले बताएका छन । देशको मुख्य समस्या गरिबी र बेरोजगारी रहेको भन्दै यसलाई हटाउन आर्थिक विकासमा केन्द्रित हुनुपर्ने उनले बताए ।

उनले देशलाई २० वर्षभित्र गरिबीबाट मुक्त गर्ने, रोजगारी सिर्जना गर्ने गुरुयोजना आफूहरूले बनाएको पनि बताएका छन । भोट किनेर सत्तामा पुग्ने र पालैपालो देशलाई काम भइरहेको भन्दै उनले भ्रष्टाचार अन्त्य गर्न अधिकार सम्पन्न आयोग बनाउने र सबै भ्रष्टाचारीहरूको छानबिन गरेर कठघरामा उभ्याउने प्रतिबद्धता जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us