आफ्नै सरकारसँग किन निराश भए ओली ?

काठमाण्डु टुडे २०८१ पुष ६ गते ९:३४ मा प्रकाशित

काठमाण्डु, ६ पुस– जनतामा रहेको निराशा हटाउन प्रतिनिधिसभाका दुई ठूला दल काँग्रेस र एमाले मिलेर सरकार बनाएको दाबी गर्दै आएका प्रधानमन्त्री केपी ओली आफैं निराशा व्यक्त गर्न थालेका छन् ।

मन्त्रिपरिषदको शुक्रबारको बैठकमा ओली जनताले सरकारको महसुस गर्न नपाएको भन्दै निराश भावमा प्रकट भए ।

उनले मन्त्रीहरुले सोचेजस्तो काम नगरेको भन्दै असन्तुष्टि जनाए । मन्त्रीहरु हेरफेर हुन लागेको भन्ने चर्चाबीच ओलीको यस्तो भनाइ आएको हो ।

उनले वर्तमान सरकार गठन भएको ५ महिना बितिसक्दा कुनै पनि मन्त्रीले जनतामा आशा जगाउने गरी काम नगरेको बताए । ‘मन्त्रीहरुले जनतामा रहेको निराशा चिर्ने गरी काम गर्नुपर्नेमा त्यो म देख्दिन’, ओलीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने, ‘अब यसरी हुँदैन, कामको गति बढाउनुस् ।’

उनले अझै पनि सरकार अधोगतितर्फ गइनसकेको भन्दै सरकारप्रति जनताको भरोसा वृद्धि हुने गरी काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए । यस्तै ओलीले स्थायी सरकार भनेर चिनिने कर्मचारीको कार्यशैलीलाई लिएर पनि असन्तुष्टि जनाए ।

प्रधानमन्त्री र मन्त्रीहरुले सबैतिर वर्तमान सत्ता गठबन्धनको सकारात्मक असर देखिन थालेको दाबी गर्दै आएका थिए ।

अर्थतन्त्रमा सुधार भएको सरकारको दाबी आलु आर्थिक वर्षको पहिलो चौमासिकमा भएको पुँजीगत खर्च र राजश्व वृद्धिको आँकडाले खारेज गरेको छ ।

पुँजीगत खर्च र राजश्व वृद्धि गत आर्थिक वर्षको यही अवधिको तुलनामा निराशाजनक छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us